काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढंगबाट अघि बढिरहेको बताएका छन् ।
भारतको ७५औं गणतन्त्र दिवसका अवसरमा नेपाल–भारतमैत्री समाजद्वारा आज आयोजित कार्यक्रममा उनले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्याइने धारणा राखे ।
मन्त्री साउदले भने, ‘२ देशबीचको सन् १९५० को सन्धि र सीमा बहुआयामिक विषय भएकाले जनताका हित हुनेगरी वस्तुगत र व्यावहारिक भएर निर्णयमा पुग्नुपर्छ ।’ दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उनले दुवै देशका सीमा क्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औंल्याए ।
परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि भएका भेटघाट र भ्रमणमा भारतीय नेताहरू र नागरिकमा नेपाल र नेपालीप्रति सहृदय देखेको बताउँदै मन्त्री साउदले सुस्ता र कालापानीका विषयमा पनि भारतीय पक्षले हार्दिकताका साथ कार्यदलमार्फत काम ठोस रूपमा अघि बढोस् भन्ने मनसाय आफूले पाएको बताए ।
उनले भने, ‘नेपाल र भारत एउटै सांस्कृतिक विरासतमा रहेका मुलुक हुन् । २ देशबीच सदियौं पुरानो अन्योन्याश्रित सम्बन्ध छ । भाषा, भूगोल र संस्कृतिले जोडेको छ, यो सम्बन्ध समृद्धि, विकास र शान्तिका लागि प्रयोग गरिनुपर्छ ।’
विगत ७५ वर्षमा आर्थिक विकास र समृद्धिका हिसाबले भारत विश्वका अन्य देशका लागि आदर्शकै रूपमा रहेको बताउँदै मन्त्री साउदले दुवै छिमेकी मुलुक आपसी हितका आधारमा सम्बन्धलाई थप अनुपम बनाएर अघि बढिरहेको उनको भनाइ छ ।
त्यस अवसरमा पूर्व उपराष्ट्रपति परमानन्द झाले दुवै देशबीचको सम्बन्ध केन्द्रमा मात्र नभई क्षेत्रगत रूपमा समेत थप प्रगाढ तुल्याउनतर्फ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।