काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् ।
केन्द्रको २८औं वार्षिकोत्सवका अवसरमा आज सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे ।
केन्द्र प्रतिष्ठानका रूपमा रूपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।
‘केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरू यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरू यही हुनुहुन्छ । यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउछौं भन्दा छेक्नुपर्ने कारण छैन,’ मन्त्री बस्नेतले भने, ‘केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गर्न प्रक्रिया अघि बढेको छ । सरकार ‘कन्भिन्स’ भएको छ । हामी तपाईंहरूको प्रस्तावको पर्खाइमा थियौं, मन्त्रालयले यससम्बन्धी निर्णय समेत गरिसकेको छ ।’
यही वर्ष भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रूपान्तरण गर्न ३ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उनको भनाइ छ ।
‘संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले अस्पताललाई प्रतिष्ठानका रूपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस् । मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहने छैन, प्रक्रिया अघि पनि बढिसकेको छ,’ उनले भने ।
मन्त्री बस्नेतले भविष्यमा चिकित्सक र नर्सको अभाव खड्किन नदिनका लागि चिकित्सा शिक्षा ऐन संशोधनका लागि तयारी भइरहेको जानकारी समेत दिए । उनले आधारभूत स्वास्थ्य उपचार र चिकित्सा शिक्षा दुवै सँगसँगै लानुपर्ने आवश्यकता औंल्याए ।
केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले दिन प्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले २०० शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरेका छन् ।
निर्देशक डा. मल्लले केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गर्नतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए । ‘विगत ७ वर्षदेखि मुटु शल्य चिकित्सकको विधामा कोही पढ्न आएका छैनन् र यही अवस्था रहेमा केही वर्षभित्रमा मुटु शल्य चिकित्सकको अभाव हुन सक्ने देखिन्छ,’ उनले भने, ‘यस केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गर्न सकिए सो अभाव पूर्ति गर्न सकिनेछ ।’
विक्रम संवत् २०५१ मा ९ वटा शय्याबाट उपचार सेवा सुरु गरेको केन्द्र अहिले २९६ शय्यामा सञ्चालन भइरहेको छ । केन्द्रले मुटुरो गसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।