म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ ।
मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो ।
केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन पाँचदिने तालिम सञ्चालन गरेको जानकारी दिइन् ।
‘६ जना महिलासहित ३० जनालाई तालिम दिएका हौँ’, उनले भनिन्, ‘निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डालो बनाउन सिकाएका छौँ ।’
यही माघ १४ गते सुरु भएको तालिम पाँच १८ गतेसम्म चल्नेछ । चोयाका सामान बनाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट अनिल पाइजा घराम्दी पुगेका छन् ।
चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ । ‘अघिल्लो पुस्ताका नागरिकको मृत्यु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र प्लास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ, सामान भण्डारण र ढुवानीमा प्रयोग हुने चोयाका सामग्री वातावरणमैत्री हुन्छन्’, उनले भने ।
प्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकेको उनको भनाइ छ । प्रशिक्षक पाइजाका अनुसार प्रति डोकालाई एक हजारदेखि दुई हजार पाँच सय मूल्य पर्नेछ । साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाइ केन्द्रले समुदायस्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सीप र कलाको संरक्षणका गतिविधि गर्दै आएका अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए ।