काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली गत जेठ ५ गतेदेखि सम्पर्कविहीन छन् । दोहोरिएर निर्वाचित भएका नेपाली सहकारीको रकम ठगी प्रकरणमा फरार आरोपी समेत हुन् । अहिले उनीविरुद्ध ‘रेड नोटिस’ नै जारी भएको छ ।
ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको छ । रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गर्नेछन् । उनी भेटिएको अवस्थामा इन्टरपोलले पक्राउ गरेर नेपाल पठाउने छ ।
बागलुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । उनी नेकपा एमालेबाट मेयरमा निर्वाचित व्यक्ति हुन् ।
पहिलो स्थानीय तहमा निर्वाचित भएपछि मेयर नेपालीको प्रशंसा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत चुलिएको थियो । अझै भन्नुपर्दा उनको सानसौकत र रहनसहनका कारण पनि उनी चर्चाको शिखरमा हुन्थे ।
देशभरका स्थानीय तहका प्रमुखमध्ये उनी मात्र यस्ता जनप्रतिनिधि हुन्, जो हेलिकप्टरको सयरले पनि चर्चामा थिए । सोही चर्चाका कारण पनि उनी दोहोरिएर निर्वाचित भए तर दोस्रो कार्यकालमा उनको असली चरित्र देखापर्यो । सहकारीका अध्यक्ष समेत रहेका उनी अहिले अर्बौं रकम अपचलनमा फरार अभियुक्त हुन् ।
एकातर्फ अहिले पीडितहरू दैनिक मेयर नेपालीलाई खोज्दै नगरपालिकाको कार्यालयमा धाउँछन् भने अर्कोतर्फ ९ महिनादेखि प्रमुख सम्पर्कविहीन हुँदा उपप्रमुखले कार्यबाहक अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । उपप्रमुख धनबहादुर कायत नै अहिले नगरपालिकाको प्रमुख र उपप्रमुखको भूमिकामा छन् ।
दोहोरो भूमिकामा रहेर काम गर्दा केही चाप भए पनि आफूले आफ्नो कर्तव्य जिम्मेवार ढंगले निर्वाह गरिरहेको कायत बताउँछन् । नगर प्रमुख नहुँदा कसरी काम भइरहेको छ भन्ने विषयमा उनै उपप्रमुख कायतसँग व्यवस्था डटकमका संवाददाता जि.पीले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :
अब प्रमुख हुँदा र नहुँदा त केही फरक परिहाल्छ नै । सुरुसुरुमा केही उल्झनहरू पनि आए । विशेषगरी आर्थिक विषयमा चुनौती उत्पन्न भयो । हुन त जनप्रतिनिधिको नाममा खाता त हुँदैन, तैपनि आर्थिक वितरणका विषयमा निर्णय गर्नुपर्दा प्रमुख नै चाहिने प्रावधानका कारण केही समस्या भयो ।
तर पछि उहाँको अत्तोपत्तो नभएपछि काम त रोक्ने कुरा भएन । हामीले कार्यपालिकाबाट निर्णय गराएर काम अघि बढायौं । राहत, सहयोग लगायतका विषयमा कार्यपालिकाबाट निर्णय गराएर काम चलायौं । अहिले त प्रमुखको हैसियतामा हुनुपर्ने कामहरू पनि मैले नै गरिरहेको छु ।
योजनाका कामहरूमा भने समस्या भएन । किनकि योजना अनुगमन, मूल्यांकन लगायतका जिम्मेवारी उपप्रमुखकै हो । त्यसैले अहिले प्रमुख नभएको जस्तो चाहिँ छैन । कर्मचारीहरू पनि सहजीकरण गर्ने खालका भएकाले जसरी पहिला हुन्थ्यो, त्यसरी नै सहज तरिकाले काम अघि बढिरहेको छ ।
‘प्रमुख हुँदाभन्दा अहिले राम्रो काम भएको छ’
धेरैले प्रमुख नहुँदा काम गर्न चुनौती भएको होला, ढिलाइ पनि भएको होला भनेर सोध्नुहुन्छ तर तपाईं आएर हेर्न पनि सक्नुहुन्छ । उहाँ हुँदाभन्दा नभएका बेला नै अहिले धेरै काम भएको छ । उहाँले आफ्ना कार्यकर्ता लक्षित योजनाहरू वितरणमा जोड दिनुहुन्थ्यो, त्यसैले केही विवादहरू पनि भएका थिए ।
तर अहिले हामीले त्यसरी कोही कसैलाई नजिकको मानेर योजना दिने, काम दिने गरेका छैनौं । भलै फरक पार्टीबाट, फरक आस्थाबाट निर्वाचित भयौं तर यो पदमा पुगिसकेपछि त हामी साझा हौं । सबै जनताको प्रतिनिधि हौं । त्यसैले साझा रुपमा काम गरिरहेका छौं । विकास निर्माणका कामहरू पनि द्रुतगतिमा अघि बढिरहेका छन् ।
सामाजिक कामहरू पनि हामीले व्यवस्थित तरिकाले अघि बढाएका छौं । कोही आगलागीबाट पीडित हुन्छन्, कोही पहिरोबाट पीडित बन्छन्, अस्ती भर्खर जाजरकोटमा भूकम्प गयो सबैले सहयोग गरे, हामीले नगर्ने कुरै भएन । हो त्यसमा निर्णय गर्न प्रमुख चाहिन्थ्यो । अब आरोप लागेपछि फरार नै भइसकेको व्यक्तिलाई कुरेर बस्ने कुरा भएन । त्यसैले कार्यपालिकाबाट निर्णय गराएर काम अघि बढायौं ।
‘सहकारी पीडितहरू प्रायः आइरहन्छन्’
उहाँको पहिलाको रवाफ, लवाइखुवाइ, रहनसन र चर्चा तथा दलित समुदायको बाहुल्य भएका कारण पनि दोहोरिनुभयो । अझ सहकारीको अध्यक्ष, त्यसका कारण पनि सबैसँग सम्बन्ध भयो । हेलिकप्टरमा हिँडिरहने । यसले त केही गर्छ पक्कै भन्ने अपेक्षाले जनताले दोहो¥याए तर पछि थाहा भयो यो सब खोक्रो देखावटी मात्र रहेछ ।
केही त जम्मा गरेका हुनेखानेहरू पनि छन् तर केहीले गिट्टी–बालुवा गरेर भविष्यका लागि केही होस भनेर नै सहकारीमा जम्मा गरेका थिए । खासमा उहाँ सहकारी अध्यक्ष मात्र होइन, स्थानीय सरकार प्रमुख नै भएकाले यस्ता समस्या समाधानमा उहाँको भूमिका हुनुपर्थ्यो तर उहाँ आफैं आरोपी भएर फरार हुनुभयो । अब यसले बाहिर गएको सन्देश त भनिसाध्य छैन ।
कहिलेकाहीँ त मेयरसँग सम्पर्क छ कि भनेर घरमै पनि आउँछन् पीडितहरू । नगरपालिका कार्यालयमा दैनिक आइरहन्छन् । हुन त म न्यायिक समितिको संयोजक हुँ तर यस्तो केशमा हाम्रो तर्फबाट पनि हुने सम्भावना छैन । सीआईबीले नै अनुसन्धान गरिरहेको छ । अब त ‘रेड नोटिस’ पनि जारी भयो क्यारे ! पक्राउ परेपछि नै थाहा होला ।
अब तपाईंले भनेकोजस्तो उहाँको स्थानमा के गर्ने भन्नेमा हामी पनि अन्योलमै छौं । अदालतले फैसला गरेमा मात्र रिक्त हुने हो । अहिले रिक्त भन्न पनि मिलेन या उहाँले राजीनामा दिएको भए पनि उपनिर्वाचिनको विकल्प हुन्थ्यो । अब उहाँको प्रक्रिया चल्दै जाला तर उहाँ नभएकै कारण नगरपालिकाको कामहरू रोकिएको भने छैन ।