काठमाडौं । वडाले नै बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गर्न आग्रह गरेपछि उक्त अभियान विवादित भएको छ ।
पोखरा महानगरपालिका वडा नं १९ ले हिजो सोमबार एक सूचना जारी गर्दै बाँदर नियन्त्रण गर्न रुख काट्ने बताएको थियो । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले निकालेको उक्त सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सूचना अनुसार बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने भनेर कास्की जिल्ला पोखरा महानगरपालिका साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आ.व. ०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको थियो ।
वडाले सुचना जारी गरेको मितिबाट १० दिन भित्र “मेरो रुख म काट्छु भन्ने अभियान संचालन गरी आ– आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको लागि अनुरोध गरेको छ ।
वन जङ्गलको सुरक्षा गर्नु पर्ने निकायका तर्फबाट यस्तो आपत्तिजनक सूचना आउनु स्वाभाविक रूपमा गलत छ । वडाध्यक्ष पाण्डे भने निर्णय कार्यान्वयन गराइछाड्ने र गाउँघर नाङ्गो डाँडा बनाएरै छाड्ने अभियानमा छन् । त्यसैले पनि पोखरा–१९ लामाचौरका वडाध्यक्ष पाण्डेले ‘मेरो रुख म काट्छु’ अभियान चलाउँदै वडाका बासिन्दालाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेपछि विरोध सुरू भएको छ । विरोध थेग्न नसकेपछि महानगरले नै सो निर्णयमा रोक लगाएको बताएको छ ।
हेर्नुहोस् वडाले जारी गरेको सूचना
यस्तै यता पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भने महानगरले रुख काट्ने अभियान नचलाएकोले सूचनाको पछि नलाग्न भनेका छन । ‘आफ्नो रुख आफै काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउनुहुन सबैलाई आग्रह गरिन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् । रुख काटेर बाँदर नियन्त्रण नहुने आचार्यको भनाइ छ ।
यस विषयमा के भन्छ महानगर?
हामीले वडामा पत्राचार गरेका छौ । उहाँहरूले यस निर्णयलाई सच्याउनु हुन्छ । रुख काटेर बाँदरको समस्या समाधान हुने कुरा पनि होइन । गत वर्ष पनि महानगरको कृषि शाखाले बाँदर नियन्त्रण गर्न बाँदरलाई मन पर्ने फालफुल लगाएको छ ।
बाँदरले नष्ट नगर्ने बाली लगाउन पनि कृषकलाई महानगरले प्रेरित गरिरहेको छ । यो रुख काट्ने निर्णय महानगरको होइन वडाको हो । यसको छिनोफानो वडाले गर्नु पर्न महानगरका प्रवक्ता मोतिलाल तिम्सीना बताउँछन् ।
आज रुख काटेर बाँदर नियन्त्रण गर्न खोज्दा फेरी बाली लगाएपछि बाँदरले बाली नष्ट त गर्छन् । कुरा के हो भने हामीले भोली बाली नलगाउनुहोस् भन्न मिल्दैन । त्यसैले बाँदर नियन्त्रण गर्न अरू विकल्प खोज्नु पर्छ ।
विवादित बनेको निर्णयबारे के भन्छन् वडाध्यक्ष पुष्पेन्द्र पाण्डे?
बाँदरले बालीनाली सबै खाइदिने गर्यो, जति धपाए पनि नहुने आइहाल्ने खाइहाल्ने भएपछि जनताले हामीलाई बाटो चाहिँदैन, बिजुली चाहिँदैन, खानेपानी चाहिँदैन,रुख चाहिँदैन तर, बाँदर चाहिँ नियन्त्रण गरिदेऊ भनेका छन् ।
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन् । बाँदर नियन्त्रणका अनेक उपाय लगाइयो । तर, सकिएन । अनन्त रुख काट्ने अभियान सुरू गरेका हौँ ।
बाँदरकै कारण गाउँबाट मानिसहरू सहरमा बसाइँ सर्ने गरेका छन् । गाउँमा जनसङ्ख्या घट्दो छ । गाउँमै बसेका मान्छेले पनि खेतीपाती गर्नै छाडे । गाउँमा बस्ने बुढापाका काम गर्न नसक्ने भएपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् ।
बाँदर मार्न पाइँदैन । तर, उनीहरू खानाको खोजीमा बस्ती पस्न थाले, खेतीपाती खाइदिन थाले, धपाउन जाँदा मान्छेलाई टोकेर हैरान घाइते बनाउन थाल्यो। महिलाहरूलाई धेरै हेप्न थाल्यो । यसैले आफ्नो करेसाबारीका ठुला रुख र बाँसको झ्याङहरू काट्ने अभियान चलाएका हौँ ।
स्थानीयहरू पहिल्यै यही चाहन्थे । अहिले मैले नेतृत्व मात्र लिएको हुँ । पूरै वन काट्ने होइन । फेरि नयाँ बिरुवा रोप्ने हो । काफल, लप्सीलगायतका फलफूल रोप्ने हो ।
यसो गर्दा पर्यावरणमा असर पर्दैन?
हामी फेरि वृक्षारोपण गर्छौँ । सबै रुख काट्ने भनिएको पनि होइन । गाउँका रुख जहाँ बाँदर लुक्ने र खेतको बाली नष्ट गर्ने गरेका छन् ।