काठमाण्डु – पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्त्व नदिएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुःख दिने काम गरेको आरोप लगाए ।
‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितका लागि न्याय दिनुपर्यो, सहकारी पीडितहरूका लागि काम गर्नुपर्यो, यी सहकारीबाट भागेकाहरूलाई समातेर भए पनि यिनको सम्पत्ति अहिलै कब्जा गरेर, कानून ल्याएर, अध्यादेश ल्याएर सप्पै पीडितलाई बाँड्नुपर्यो भनेर लागिपरेको भए अहिलेसम्म कैयौ पीडितहरूले पैसा पाइसक्थे, केही न केही सुरुवात हुन्थ्यो,’ उनले भने, ‘तर उहाँको ध्यान त यल्लाई चाहिँ छोड्नुभएन, केही भेटिन्छ कि यता खोज्नुस् त्यहाँ खोज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयो ।’
उनले यति समय सरकारले पीडितहरूलाई न्याय दिने, पीडितहरूको पैसा फिर्ता दिने, त्यसका लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य क्षमतावान मान्छेहरू राख्ने र राज्यले काम गर्ने गरेको भए पीडितहरूले न्याय पाइसकेको हुने बताए । ‘मेरो लागि खर्चिएको समय पीडितका लागि खर्चिएको भए पीडितलाई न्याय दिन सकिन्थ्यो,’ उनले भने, ‘अझै पनि आइडिया चाहिन्छ भने सम्पर्क राख्नुहोस्, हामी भन्दिन्छौं । सहकार्य गर्ने हो भने हामी तयार छौं ।’
पूर्व उपप्रधानमन्त्रीलाई समाउने सरकारले जीबी राईलाई किन समात्न नसकेको भन्दै गृहमन्त्रीलाई उनले प्रश्न गरेका छन् ।