काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ।
बंगलादेश आजको खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्ने सुरमा हुनेछ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ ।
मंगलबार भारत र पाकिस्तानले जित निकालेपछि सुपर सिक्समा एउटा पनि खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिइसकेको छ। मंगलबारको खेल परिणामले सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सुपर सिक्सको पहिलो खेल बंगलादेशसँग खेल्न लागेको हो।
सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जिते पनि चार अङ्क मात्रै हुनेछ। सुपर सिक्समा नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्दैछ। नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो।
नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।
समूह चरणपछि सुपर सिक्स भनिएको प्रतिस्पर्धामा नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्समा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्। आज नेपाल र बंगलादेशसहित चार खेल हुँदैछन्।