सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले कर्मचारीको नियुक्ति, सरुवा र बढुवामा भेटी र दक्षिणा विना काम नै नगर्ने गरेको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा रहँदा हटेको दक्षिणा लिने गलत क्रियाकलाप अहिलेको सरकारले बढाएको बताए ।
‘सरुवा र बढुवामा मात्रै होइन, नयाँ नियुक्ति पनि भेटी, दक्षिणा विना काम नै हुँदैन,’ उनले भने, ‘भेटी, दक्षिणा पनि थोरै होइन, भ्रष्टाचार गरेर कमाउनेभन्दा पनि बढी लिने गरेको छ ।’
मन्त्रालयमा जाँदा अनुहार हेरेर व्यवहार गर्ने गरेको उनले बताए । मन्त्रालयमा जाँदा क्षमता हेरेर होइन, रंग हेरेर गठबन्धनको हो कि होइन हेरेर मात्रै काम गर्ने संस्कृतिको विकास वर्तमान सरकारले सुरुवात गरेको उनले बताए । ‘एमालेको सरकार रहँदा धेरै काम भयो, त्यो काम किन भयो भने एमालेले अनुहार हेरेर होइन, योग्यता र क्षमता हेरेर मात्रै काम गर्यो,’ उनले भने ।
राजतन्त्र हटाएर नेपाली जनताले गणतन्त्र ल्याए पनि अहिले छोटे राजाहरूको बिगबिगी भएको उनले बताए । ‘एउटा छोटे राजाको विरोध गर्दा युवाहरू गोली लागेर मर्नुपर्ने अवस्था नेपालमा सुरु भएको छ,’ उनले भने, ‘अहिले छोटेराजा होइन, ‘छिनेमिने’हरूको दादागिरी सुरु भएको र त्यसको अन्त्य छिटो हुनुपर्छ ।’