काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ ।
राष्ट्रिय योजना आयोगले आज बुधबार विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो ।
आगामी आवका लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ) तोक्नुअघि मन्त्रालयसँग छलफल गरिएको योजना आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । ‘आगामी आवको बजेट सिलिङ तोक्नुअघि विभिन्न विषयगत मन्त्रालयसँग छलफल थालिएको छ । कुन मन्त्रालयले के कस्ता योजना र कार्यक्रम कार्यान्वयनका लागि के कति बजेट आवश्यक छ भन्ने लगायतका विषयमा छलफल भएको हो,’ उनले भने, ‘बजेटलाई यथार्थपरक र कार्यान्वयन योग्य बनाउनका लागि स्रोत अनुमान गर्ने र सिलिङ तोक्ने समयमा उनीहरूको सहभागिता खोजिएको हो ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा स्रोत अनुमान समिति रहन्छ । विगतका वर्षमा समितिले विषयगत मन्त्रालयको सहभागिता र छलफलबिना नै बजेटको सीमा तोकेर सोही सीमाभित्र वार्षिक योजना तथा कार्यक्रमको प्रस्ताव माग गर्ने गरेको थियो । जसले गर्दा मन्त्रालयले बजेट अपुग भएको, छुट्याउनैपर्ने योजना तथा कार्यक्रममा बजेट नपरेको, कम प्राथमिकताका आयोजना तथा कार्यक्रममा बढी बजेट परेको लगायत गुनासा आउने गरेका थिए । यस्तो समस्यालाई सम्बोधन गर्न यसपटक समितिले सिलिङ तोक्नुअघि पनि मन्त्रालयसँग छलफल गरेको छ ।
यसपटक मन्त्रालयले के चाहन्छन्, कुन योजना तथा कार्यक्रम र प्राथमिकतामा राखेर बजेट छुट्याउने, उनीहरुको बजेट माग कति हो भन्नेजस्ता विषयलाई पहिले नै छलफल गरेर सोही आधारमा बजेट सिलिङ निर्धारण गरिने प्रवक्ता भुसालले बताए । उनका अनुसार चालू आवको पुस महिनासम्मको खर्चको अवस्थालाई विश्लेषण गरी आगामी आवको बजेटको स्रोत अनुमान र खर्चको सीमा निर्धारण गरिनेछ ।
आयोगले आज बुधबार श्रम, शहरी विकास, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा जलस्रोत र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत लगायत निकायसँग पछि छलफल भएको प्रवक्ता भुसालले जानकारी दिए ।
बिहीबार र शुक्रबार अरु मन्त्रालय र निकायसँग छलफल गर्ने कार्यतालिका बनाइएको आयोगले जनाएको छ । आयोगले हरेक मन्त्रालय र निकायसँग छुट्टाछट्टै छलफल गर्ने जनाएको छ ।
‘बजेट क्यालेन्डर’ संशोधन
सरकारको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका थिए । संघीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन भएको थियो ।
स्रोत निर्धारण समितिले बजेटको सीमा (सिलिङ) तोकिसक्नुपर्ने समयलाई पनि अध्यादेशमार्फत् संशोधन गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ११(१) मा प्रत्येक आर्थिक वर्षका लागि विनियोजन विधेयक पेश गर्नुभन्दा कम्तीमा १५ दिनअगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसद्मा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था रहेको थियो । यो व्यवस्थालाई अध्यादेशबाट संशोधन गरी ‘विनियोजन विधेयक ल्याइनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त र प्राथमिकतामा संसद्मा पेश गरिनुपर्ने’ व्यवस्था ल्याइएको छ ।
संघीय सरकारले विनियोजन विधेयक जेठ १५ गते संसद्मा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेअनुसार सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता फागुन १५ गतेभित्रमा संसद्मा पेश गरिसक्नुपर्नेछ । बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि संसद्मा छलफल भएर १ महिनाभित्र सरकारलाई सुझाव जानेछ ।
अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ मा संशोधन गरिएको छ । ऐनको उक्त दफामा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्ने (सिलिङ) सम्बन्धी व्यवस्था रहेको छ । दफा ७ (१) मा योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी ३ वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्व अनुमान चालू आर्थिक वर्षको माघ १५ गतेभित्र गरिसक्नुपर्नेछ भनी व्यवस्था रहेको थियो । अध्यादेशमार्फत उक्त व्यवस्थालाई संशोधन गरी माघ मसान्तसम्म गरिसक्नुपर्ने बनाइएको छ । अर्थात् स्रोत अनुमान समितिले माघ मसान्तभित्रमा बजेट सिलिङ तयार पारेर फागुन ७ गतेभित्र सबै मन्त्रालयलाई उपलब्ध गराइसक्नेछ ।
ऐनको दफा ८ (१) मा संशोधन भएको छ । उक्त दफामा योजना आयोगले स्रोत अनुमान समितिबाट निर्धारित स्रोत तथा खर्चको सीमाको अधीनमा रही आगामी ३ वर्षको बजेट तर्जुमाका लागि बजेट सीमा, मध्यमकालीन खर्च संरचनाको खाका समेत उल्लेख गरी बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा चालू आर्थिक वर्षको माघ मसान्तभित्र सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय वा निकायमा पठाइसक्नुपर्नेछ भनी व्यवस्था गरिएको थियो । अध्यादेशमार्फत यो व्यवस्थामा संशोधन गरी स्रोत समितिले बजेट सिलिङ र मध्यमकालीन खर्च संरचनासम्बन्धी विवरण फागुन ७ गतेभित्र सम्बन्धित मन्त्रालयमा पठाइसक्नुपर्नेछ ।
प्रदेश र स्थानीय तहसँग योजना माग
राष्ट्रिय योजना आयोगले गत पुस पहिलो हप्ता प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि संघीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरिसकेको छ । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव यही माघ मसान्तभित्र पेश गरिसक्न भनिएको छ ।