काठमाडौं । माघ १० गते त्रिभुवन विमानस्थलमा भएको कुटपिट घटनामा बुधबार छानबिन समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ।
प्रतिवेदनमा कुटपिटमा संलग्न प्रहरी नायब उपरीक्षकसहित चार जना प्रहरीलाई कारबाहीका लागि सिफारिस गरिएको छ । छानबिन समितिको प्रतिवेदनअनुसार डीएसपी रेवती रमण पोखरेल, सअई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोलाई कारबाहीका लागि सिफारिस गरिएको छ।
उक्त घटनापछि गृहमन्त्रालयले छानबिन समिति गठन गरेको थियो। आफ्नो अध्ययन सकेर हिजो मन्त्री श्रेष्ठसमक्ष प्रतिवेदन पेस गरेको हो।डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै सचेत गराउन प्रतिवेदनमा भनिएको छ।
अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएका असई सञ्जय तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको छ। शरीर खानतलासी गर्न नदिएको अवस्थामा पक्राउ गरेर कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको हो।
असई मोक्तानले अध्यागमन अधिकृतलाई कुटपिट गरेको बेला अन्य दुई प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोले समेत छुट्टाएर घटनाबारे रिर्पोटिङ गर्नुपर्नेमा उल्टै कुटपिट गरेको भन्दै उनीलाईसमेत विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।
माघ १० गते भएको उक्त घटनापछि कर्मचारी संघ संगठनले प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीलाई दबाद दिएका थिए। नत्र देशैभर काम ठप्प पार्ने चेतावनीसमेत दिएका थिए।
उक्त घटनामा अध्यागमन अधिकृत मोक्तानलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। विमानस्थलमा चेकजाँचका क्रममा शरीर खानतलासी गर्न पाउने प्रहरीको अधिकार भएको र त्यसमा उनले सहयोग गर्नुपर्नेमा उल्टै विवादमा उत्रिएको भन्दै उनलाई पनि कारबाहीका लागि समितिले सिफारिस गरेको हो।
अध्यागमन अधिकृत मोक्तानको आचरणसम्बन्धी समस्या देखिएकाले सोही अनुसार कारबाही गर्नुपर्ने र तत्कालै जिम्मेवारीबाट हटाएर मन्त्रालय तान्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनापछि छानबिनका लागि सहसचिव थानेश्वर गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समिति माघ १२ गते गठन भएको थियो। समितिमा गौतमका साथै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए।