काठमाडौं । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् ।
आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी अरुण चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। सोही कसुरमा उनलाई पक्राउ गरिएको सीआईबी स्रोतको दाबी छ ।
के हो विवाद ?
बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो ।
तर निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो ।
त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, बसन्त चौधरी लगायत थिए । पछिल्लो समय यसको शेयर सदस्य अरुण र उनकी श्रीमती शीला थिए ।
अहिले यो जुत्ता उद्योग छैन । कम्पनीको नाम परिर्वतन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ र, चौधरी ग्रुप फाउन्डेसनले यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ ।