काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।
तर, प्रहरीले सोही प्रकरणमा पक्राउ परेका आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुरलाई भने अदालतमा उपस्थित गराइसकेको छैन ।
प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई आज राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो । यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको जनाएको छ ।
यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको बताइएको छ ।