काठमाडौं । सिनामंगलस्थित घरहरूबाट कानुन विपरीत घरेलु बाल श्रमिकका रूपमा राखिएका बालबालिकाहरूलाई उद्धार गरी अस्थायी संरक्षण गृहमा राखिएको छ ।
ती बालकलाई कुटपिट, गालीगलौज तथा अत्यधिक काममा लगाइ चराम यातना दिएको भन्ने खबर यस अभियानलाई प्राप्त भएपस्चात काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमार्फत बागमती श्रम कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास तथा समन्वय केन्द्र (१०४) सँग समन्वय गरी आइतबार साँझ उद्धार गरिएको हो ।
कक्षा १ मा पढ्ने १० वर्षीय बालकलाई घरका मालिकले घरभन्दा अलग्गै रहेको जस्ताको छाना भएको स्टोर कोठामा सुताउने गरेको , बिहान ४ बजे देखी नै घरको सरसफाइ, लुगा धुने, भाडा माझ्ने जस्ता कार्यमा लगाउने गरेको र विभिन्न बहानामा चरम यातना दिने गरेको पाइएको छ ।
काठमाडौं महानगरले १८ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई बालश्रममा नराख्न र अस्थायी संरक्षणकर्ताका रूपमा महानगरमा सूचीकृत हुन यस अघि नै गोरखापत्रमा सूचना प्रकाशित गरी सुसूचित गराइसकेको छ ।
अब ती बालकहरूको परिवार पहिचान गरी पारिवारिक तथा व्यक्तिगत अवस्था सम्मिलित प्रतिवेदन तयार पारी उनीहरूको शिक्षा, स्वास्थ्य, पालनपोषणको उचित प्रबन्ध हुने गरी पारिवारिक पुनर्स्थापनाको प्याकेज सहित परिवारमा पुनर्मिलन गराउने वा परिवारमा ती बालकको संरक्षण नहुने अवस्थामा वैकल्पिक स्याहारको व्यवस्थाका लागि प्रबन्ध मिलाइनेछ ।
घर मालिकलाई बालश्रम नियमित तथा निषेध गर्ने ऐन २०५६ बमोजिम कारबाही गरिनेछ ।