मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको बताएका छन् ।
प्रदेशसभा स्थापना दिवसको अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार कुरामा मात्र नभई काममा सिद्ध भएको बताए ।
सरकारको कामले जनता संघीयताका साथै यसको व्यवस्थाका पक्षमा रहेको जनाउने भन्दै उनले प्रदेशको साझा विकासका लागि सरकारले स्पष्ट नीति लिएर काम गरिरहेको बताए । नकारात्मक टिप्पणी गरेर जनतालाई भ्रममा नपार्न उनले प्रतिपक्षलाई आग्रह गरे ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा १० वटा अस्पतालको स्तरोन्नति गरिएको भन्दै उद्योग व्यवसायका क्षेत्रमा विभिन्न नीति ल्याएर कच्चा पदार्थ उत्पादनमा जोड दिन प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिए ।
‘प्रदेशभित्रका विद्यालयलाई आवासीय ढंगले सञ्चालन गरिएको छ । माध्यमिक तहमा प्राविधिक शिक्षा सम्बन्धी अध्ययन गराउन तथा विश्वविद्यालय स्थापनाका लागि अन्तिम तयारीमा पुगेका छौं,’ उनले भने ।
चिकित्सा शिक्षा नीतिको काँडेतार भत्काएर सामान्य नागरिकको पहुँच पुग्ने गरी नीति बनाएर कार्यान्वयन गर्ने पक्षमा रहेको बताउँदै उनले कृषि तथा उद्योग नीति निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए । उनले भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले आगामी वर्षमा ५० लाखभन्दा कमका योजना स्थानीय सरकारलाई दिने तयारी गरिरहेको बताए ।
प्रदेशसभा छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले आगामी दिनमा प्रदेशसभा अझै सुव्यवस्थित हुँदै जाने अपेक्षा व्यक्त गरे ।
प्रदेशका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।