कास्की । मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले २ दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ ।
विक्रम संवत् २०५८ सालदेखि सुरु प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फूटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ ।
प्रतियोगिताको २३औं संस्करणको फाइनल खेल भोलि हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब पोखरा रंगशालामा आमनेसामने हुँदैछन् ।
त्रिभुवन आर्मी क्लबले हालसम्म ४ पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौंपटक उपाधि नजिक पुगेको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।
थ्रिस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्दछ । मनाङ मस्र्याङदी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रिस्टार । थ्रिस्टारले हालसम्म ५ पटक उपाधि जितिसकेको छ भने शनिबार भोलि छैटौं उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ ।
थ्रिस्टार यसअर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ । आर्मी यसअघि विक्रम संवत् २०६५, विक्रम संवत् २०६६, विक्रम संवत् २०७२ र विक्रम संवत् २०७५ सालमा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन । पछिल्लोपटक आर्मी र थ्रिस्टार विक्रम संवत् २०७५ सालमा फाइनलमा भिडेका थिए ।
तत्कालीन समयमा टाइब्रेकरमा थ्रिस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा ५ वर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रिस्टारले विक्रम संवत् २०६३, विक्रम संवत् २०६७, विक्रम संवत् २०६९, विक्रम संवत् २०७१ र विक्रम संवत् २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको छ ।
प्रतियोगितामा हालसम्म ७ पटक फाइनल पुगेको थ्रिस्टार विक्रम संवत् २०७४ सालको १६औं संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रिस्टार । प्रतियोगितामा छैटौंपटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रिस्टार हुनेछ ।
आर्मीका प्रशिक्षक मेघराज केसी विगतको इतिहासलाई बिर्सिदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताउँछन् । पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुशी दिने आफ्नो योजना रहेको उनले सुनाए । ‘हामी इतिहास दोहोर्याँदैनौं, नयाँ इतिहास रचेर समर्थकलाई खुशी दिनेछौं,’ उनले भने ।
प्रशिक्षक केसीले फाइनल खेल रोमाञ्चक हुने उल्लेख गरे । टोलीमा केही इन्जुरीको समस्या रहे पनि खेलाडी पर्याप्त रहेको उनले बताए ।
थ्रिस्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताए । उपाधि जित्ने योजना बनाएको उनले उल्लेख गरे । प्रशिक्षक लामाले भने, ‘आर्मीको टोली संगठित छ, फाइनल खेल पक्कै गाह्रो हुनेछ तर हामी उपाधि चुम्ने गरी खेल्नेछौं ।’
लामा आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने उल्लेख गरे । पोखरामा जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फूटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल पुगेको हो । थ्रिस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वाटरफाइनलमा भुटानको पारो फूटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको छ ।
सहारा क्लब पोखराको आयोजनामा माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले ६ लाख १ हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए ।
विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर पाउनेछन् । प्रतियोगितामा १ विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।