काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।
यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण छन् । विशेषगरी नगरपालिका तथा वडा कार्यालयको पहुँच कम भएका सेवाग्राहीलाई लक्षित गरेर नगरपालिकाले चन्द्रागिरि–१ दहचोकस्थित इन्द्रज्योति आधारभूत विद्यालय परिसरमा पहिलोपटक शिविरको आयोजना गरेको हो ।
नगरपालिकाले आफ्ना अन्य १५ वडामा यस्ता शिविर आयोजना गर्ने जनाएको छ ।
नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ दहचोककी कान्छी तामाङलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी एकीकृत घुम्ती शिविरको शुभारम्भ गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्ना सेवालाई अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिए । उनले नगरको भौतिक पूर्वाधार विकासमा साथसाथै सामाजिक विकासमा प्राथमिकताका साथ विभिन्न काम गरिरहेको बताए ।
उपप्रमुख वसन्ती श्रेष्ठले सेवाग्राहीलाई नगरपालिकाद्वारा प्रदान गरिने सेवा लिन नगरपालिका तथा वडा कार्यालयसम्म आइपुग्न नपर्ने अवस्थालाई क्रमशः घटाउँदै लाने ध्येयले एकीकृत घुम्ती शिविर कार्यक्रम राखिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, ‘एकीकृत घुम्ती शिविरले नगरवासीलाई घरदैलोमा नै सेवा प्राप्त गर्न सहजता हुन्छ । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा शिविरमा लिन नसकेता पनि स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण सेवा लिन सकिन्छ । यसले समुदायमा स्थानीय सरकारकोप्रतिको अपनत्व झन बढेर जान्छ ।’
उनले नगरपालिकाले आफ्नो सेवालाई अझ चुस्त बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिए । चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम थापामगरले वडा तहबाट बालविवाह अन्त्य गर्न चुनौती रहेको बताए । एकीकृत घुम्ती शिविर कार्यक्रम संयोजक एवं योजना अधिकृत महेशप्रसाद पाठकले एकीकृत घुम्ती शिविरमा नगरवासीले आधारभूत सेवा प्राप्त गर्न सहज हुने बताए ।