काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीले जोर्डनमा ३ अमेरिकी सैनिकको मृत्युको जवाफमा अमेरिकाको कुनै पनि सम्भावित आक्रमणविरुद्ध शुक्रबार कडा चेतावनी दिएका छन् ।
‘हामी कुनै पनि युद्धको सुरुआत गर्ने छैनौं भनेर हामीले धेरैपटक भनेका छौं तर यदि कुनै मुलुकले क्रुर शक्तिले धम्की दिन चाहन्छ भने इस्लामिक गणतन्त्र इरानले त्यसको दृढतापूर्वक जवाफ दिनेछ,’ उनले दक्षिणी प्रान्त होर्मोजगानको भ्रमणका क्रममा भने, ‘यस क्षेत्रमा इरानको सैन्य शक्ति कुनै पनि मुलुकका लागि खतरा थिएन र छैन तर इरानमाथि भरोसा गर्ने सुरक्षाको स्रोत हो, आज दुश्मनसँग हामीविरुद्ध केही पनि गर्न सक्ने क्षमता छैन किनकी हाम्रा सेना शक्तिशाली र सक्षम छन् भन्ने उनीहरूलाई थाहा छ ।’
जोर्डनमा एक सैन्य अड्डामा भएको ड्रोन हमलामा अमेरिकी सैनिकको मृत्यु अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रमा शत्रुतापूर्ण गोलाबारीमा पहिलो अमेरिकी सैन्य क्षति हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमलाका लागि ‘कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरू’लाई दोष दिएका छन् ।
उनले आफूले घातक बमबारीमाथि अमेरिकी प्रतिक्रियाको प्रकृतिमाथि निर्णय गरिसकेको उल्लेख गरे तर सार्वजनिक रूपमा योजना वा समयको बारेमा विस्तारमा केही बताएनन् । उनले आफूले मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकामा जोड दिए ।
ह्वाइट हाउसले हमलाको जवाफमा धेरै कारवाही गर्न सकिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रबार अमेरिकामा फिर्ता भएका शवहरूको निरीक्षण गर्नेछन् । त्यहाँ मृतक सैनिकहरूलाई सैन्य सम्मानका साथ स्वागत गरिनेछ ।
इरानले अमेरिकी सैनिकहरूमाथि भएको आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको विस्तार नचाहेको बताएको छ । इजराइल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ ।
इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’लाई समर्थन गर्ने कर्तव्य मानेको तर निर्णय लिन र कारवाही गर्न स्वतन्त्र रहेको बताएको छ ।