बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएको मतभेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आदर्श कोतवाल गाँउपालिकामा पार्टीले आयोजना गरेको संवाद कार्यक्रममा उनले पार्टीभित्रको मतभेद अन्त्य गर्दै जनताको अवस्था बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताए । उनले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले कसरी जनतामुखी काम गर्ने भन्ने विषयमा पनि बहस हुने जानकारी दिए ।
महामन्त्री थापाले मधेशमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । ‘मधेशमा जनसंख्या बढ्दो छ भने खाद्यान्न उत्पादन लगायतका क्षेत्रमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने ।
उनले बाराको निजगढमा चाँडै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
त्यस अवसरमा स्थानीयहरुले महामन्त्री थापा समक्ष पालिकाले भोग्दै आएका समस्या अवगत गराएका थिए ।
महामन्त्री थापा मेचीदेखि महाकालीसम्मको ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा बारा पुगेका छन् । उनलाई नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशंकर यादवले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, बारा जिल्ला सभापति राजेशराय यादव, मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह लगायतले धारणा राखेका थिए ।