घुस लिएको अभियोगमा मेडिकल ल्याब टेक्नोलोजिस्टविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा मेडिकल ल्याब टेक्नोलोजिस्टविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । 

आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

त्यस्तै, आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भवन निर्माण सम्पन्न भएको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । 

आरोपी वडाध्यक्षविरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने  माग गरिएको आयोगले जनाएको छ ।