कञ्चनपुर । महेन्द्रनगरस्थित खुलामञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ हात पारेको छ ।
आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै एपीएफ उपाधि हात पारेको हो ।
उपाधि विजेता एपीएफले नगद ४ लाख, प्रमाणपत्र र ट्रफी र उपविजेता गण्डकी प्रदेशले नगद २ लाख, प्रमाणपत्र र ट्रफी हात पारेको हो ।
त्यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेटले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल पुलिसले नगद १ लाखसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्रिभुवन आर्मी क्लबले सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा माघ १४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न ८ वटा विधामा खेलाडीलाई पुरस्कार प्रदान गरेको भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताए ।
‘सेमिफाइनलदेखिका ४ वटा खेलमा ८ विधामा पुरस्कार प्रदान गरिएको छ,’ उनले भने, ‘प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिएको छ ।’
प्रतियोगिताका उत्कृष्ट सर्भर एपीएफका खेलाडी हेमन्त मल्ल, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका इम राना, उत्कृष्ट स्पाइकरको उपाधि गण्डकी प्रदेशका खेलाडी रवि केसीले हात पारेका छन् । उत्कृष्ट ब्लकरमा गण्डकी प्रदेशका इन्द्र बिके, उत्कृष्ट डिफेन्डर एपीफका विनोद चन्द, बेस्ट प्लेयर एपीफका विजय थापा, उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजङ्ग मल्ल भएका छन् ।
प्रतियोगिताको उदीयमान खेलाडीको उपाधि सुदूरपश्चिमका अर्जुन नेपालीले प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापन तथा समन्वयमा महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा ३ विभागीय तथा ७ प्रदेशका टोली सहभागी थिए ।