दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास निर्माणमा तीनै तहका सरकारहरूबीच सहकार्य हुन आवश्यक रहेको बताएकी छन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित दाङका जनप्रतिनिधि तथा सचिवालयका कर्मचारीसँग भएको तीनै तहका सरकारको कामको समीक्षा र आगामी योजनाबारे १ दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘स्थानीय, प्रदेश र संघ सरकारबीचको सहकार्यले नै विकासले गति लिन्छ ।’
मुलुक संघीयतामा गएसँगै गाउँगाउँमा जनताले अनुभूति गर्ने गरी विकासका गतिविधि भइरहेको समेत उनले बताइन् । आमसञ्चार सम्बन्धी पुराना ऐनलाई पुनःसंरचना गर्ने गरी कानून बनाइरहेको उनको भनाइ थियो ।
उनले दाङको चारलेन, टरिगाउँ विमानस्थल निर्माणका लागि बजेट नपरेको भनेर जनता आक्रोशित भएको भन्दै यसमा आक्रोशित नहुन समेत आग्रह गरिन् । ‘४ लेनका लागि हामीले आन्तरिक रूपमा काम गरिरहेका छौं, भारतीय एक्जिम बैंककै लगानीमा निर्माण हुन लागेको अबको १ महिनाभित्र बोलपत्र भई काम अघि बढ्छ,’ उनले भनिन्, ‘विमानस्थल विस्तारका लागि पनि पहल भएको छ ।’
त्यस अवसरमा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । जनताले जिम्मा दिएर पठाएपछि त्यो जिम्मेवारीबाट पन्छिँदा नै जनतामा वितृष्णा पैदा हुने गरेको उनको भनाइ थियो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्लास्थित केन्द्रीय सदस्य, प्रदेश सदस्य, दाङका सबै पालिकाका पार्टी निकट जनप्रतिनिधि सहभागी थिए ।