काठमाडौं । २ दिन खुलेको मौसम आज शनिबार रातिबाटै पुनः बदली हुने भएको छ ।
भोलि आईतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
उनले पश्चिमी वायुको प्रभावले अहिले सुदूरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी गराउँदै अब रातिबाटै बदली हुने बताए । यसअघि शुक्रबारअघि बदली रहेको मौसम आज शनिबार खुलेको थियो ।
उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
आईतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सोमबारबाट भने मौसम क्रमशः खुल्ने लामिछानेले बताए । सोमबार कोशी प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान साथै बाँकी पहाडी भूभागको १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।