काठमाडौं । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ ।
अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो । इन्स्टिच्यूटका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् ।
यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको ठाकुरले जानकारी दिए । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् ।
दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको उनको भनाइ छ । डा ठाकुरले भने, “हामीकहाँ रेडियोथेरापीलगायत कुनै पनि उपचार र परीक्षणका लागि पालो कुर्नुपर्ने झन्झट हुँदैन ।” महिनौँ पालो पर्खुनुपर्दा क्यान्सर झन फैलिनसक्ने भन्दै उहाँले पत्ता लागेपछि नियमित उपचारमा लैजाने बताए।
उनले थपे,“रेडियोथेरापी गर्नुपरे आज योजना बनाएर भोलि नै गरिहाल्छौँ ।” उनले एक÷दुई महिनाअघि गरेको योजनाका आधारमा रेडियो थेरापी गर्दा योजनाभन्दा अन्यत्र क्यान्सर फैलिनसक्ने खतरा रहने बताए। क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए ।
रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको उनले जानकारी दिए ।