काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उनले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए ।
अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताए ।
एमाले सचेतक महेश बर्तौलाले २ दिनसम्म चलेको बैठकले ४ वटा निर्णय गरेको बताए । बैठकले संसद्लाई प्रभावकारी बनाउन सशक्त भूमिका निर्वाह गर्ने निर्णय गर्नाका साथै कानून निर्माणलाई गति दिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारलाई निरन्तर घच्घच्याउने निर्णय गरेको छ ।
युवा पलायनका रोक्नका लागि सरकारले उपयुक्त नीति तथा कार्यक्रम ल्याउनका लागि दबाब दिने र एमालेले सबै सांसदलाई संसद्को बैठक र संसदीय बैठक चलेको बेला संसद्मा बसेर विषयवस्तुलाई उठाउने निर्णय गरेको छ । एमालेले विकास, समृद्धि, सुशासन, सामाजिक न्याय र राष्ट्रिय सराकोर र जनसरोकारका विषयलाई संसद्बाट सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।
२ दिनसम्म चलेको बैठकमा पार्टीका महासचिव शंकर पोखरेल, रमेश वडाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व मन्त्री अग्निप्रसाद खरेलले समसामयिक विषयमा सांसदलाई प्रशिक्षण दिएका थिए ।