काठमाडौं । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठनमा सञ्चालन गरिएको छ । नगरपालिकाको वडा नं १३ र १४ का दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको हो ।
वडा नं १३ को जनयुवा आधारभूत विद्यालय भल्माज्युला र वडा नं १४ को आदर्श माध्यमिक विद्यालय हल्देमा ती केन्द्रमार्फत पठनपाठन भइरहेको छ । अस्थायी सिकाइ केन्द्रबाट विद्यार्थीलाई पठनपाठन गराउन निकै सहज भएको आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नरबहादुर ओलीले बताए । उनका अनुसार बुद्धिष्ट चार्टर्ड फाउन्डेसनको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गरी विद्यार्थीको पठनपाठन अगाडि बढाएको हो ।
“अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठन गर्दा विद्यार्थीसँगै शिक्षकलाई पनि सहज भएको छ । चिसो समयमा पनि पठनपाठनमा समस्या भएको छैन्, घामपानी र हावाहुरीबाट पनि सुरक्षित रहन सकिने भएको छ”, सहायक प्रध्यानाध्यापक ओलीले भने ।
चुजी चार्टर्ड फाउन्डेसनले रु २५ लाख खर्चेर आदर्श माध्यमिक विद्यालयमा नौ कोठाको अस्थायी सिकाइ केन्द्र निर्माण गरेको हो । विद्यालयलाई थप नौ कोठा आवश्यक भएको उहाँको भनाइ छ । प्रत्येक कक्षा कोठा ४० देखि ५५ जना विद्यार्थी अट्न सक्ने क्षमताका छन् । केन्द्र निर्माणमा जस्तापाता, सिमेन्ट, फलाम, बोर्ड, पिफम र पलाइउड प्रयोग गरिएको छ । उक्त संरचना ३० वर्षसम्म टिक्ने, प्रयोग भएका सामग्री पुनः अर्को ठाउँमा लगेर पनि प्रयोग गर्न सकिने खालका छन् ।
अस्थायी सिकाइ केन्द्रले पढ्न सहज भएको सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा बालिका मल्लले बताए । “त्रिपाल मुनी बसेर पढ्न गाह्रो हुन्थ्यो, अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु भएदेखि चिसो र हावाहुरीबाट बच्न सहज भएको छ । पक्की भवनमै बसेर पढेको जस्तो महसुस भएको छ”, उनले भने।
बालशिक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले केही कक्षाका विद्यार्थीलाई खुल्ला आकाशमुनी चौरमा राखेर पठनपाठन भइरहेको सहायक प्रअ ओलीले जानकारी दिए । विद्यालयमा शौचालय तथा पानीको अभाव हुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । गत कात्तिक १७ गतेको भूकम्पबाट विद्यालय भवनसमेत बस्नै नमिल्ने गरी चर्किएको छ ।
नगरपालिकाको वडा नं १३ मा रहेको जनयुवा आधारभूत विद्यालयमा पनि चारवटा कक्षाकोठासहितको अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । उक्त केन्द्र निर्माणमा रु १४ लाख खर्च भएको थियो ।
त्रिपालमुनीका विद्यार्थीलाई समस्या
भूकम्प प्रभावित केही विद्यालयका विद्यार्थीहरु अझै पनि त्रिपालमुनी बसेर पढ्न बाध्य छन् । आठबीसकोट–१४ ज्यामिरकोमटमा रहेको जनविकास माध्यमिक विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्मका तीन सयभन्दा बढी विद्यार्थी त्रिपालमुनी अध्ययन गरिरहेको सो विद्यालयका प्रध्यानाध्यापक दीपकसङ्गम थापाले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जिल्लाका छ वटा स्थायीय तहमा दुई सय १३ अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहको जानकारी दिए । विद्यालयका भवन पुनःनिर्माण नहुन्जेल अस्थायी सिकाइ केन्द्रबाट नै पठनपाठन हुने पुनले बताए ।
जाजरकोट भूकम्पबाट रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षाकोठा, एक सय ३८ वटा शौचालयमा क्षति पुगेको थियो ।