काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ गते हुने पार्टी महासमिति बैठकको तयारीलाई तीव्र पारेको छ ।
पार्टीको १४औं महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्ने गरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो ।
हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी २ हजार ३ भन्दा बढी महासमिति सदस्य रहनेछन् ।
महासमिति बैठक फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुँदैछ । बैठक तयारीका लागि सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । बैठक नीति अधिवेशनका रूपमा हुने भएकाले समसामयिक राजनीतिक विषयमा प्रस्ताव निर्माण गर्न पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी अन्तिम चरणमा छ ।
बैठक तयारीका लागि माघ २१ गते विभिन्न उपसमिति गठन गरी संयोजक पनि चयन गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति ललितपुर) लाई चयन गरिएको मुख्यसचिव पौडेलले बताए ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले आईतबार नै उपसमितिका संयोजक र पार्टी सचिवालयको संयुक्त बैठक गरेर तयारीका बारेमा छलफल गरेका थिए । महामन्त्री शर्माले सभाहल पुगेर सबै उपसमितिको कार्यविभाजन अनुसारका कामका लागि सरसल्लाह गरेको जानकारी दिए ।
यसअघि माघ २० गतेसम्म सबै महासमिति सदस्यको निर्वाचन सम्पन्न गरी सूची प्राप्त भइसक्नुपर्ने समय निर्धारण गरिएको थियो । यद्यपि सुनसरी, भोजपुर, खोटाङ, महोत्तरी, बारा, पर्सा, सप्तरी, सिन्धुली, धादिङ, काठमाडौं, दोलखा, रामेछाप, पर्वत, दाङ, कपिलवस्तु र कञ्चनपुरका केही क्षेत्रबाट महासमिति सदस्यको सूची प्राप्त हुन बाँकी रहेको सचिव पौडेलले जानकारी दिए ।