काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन् ।
नेकपा एमाले महोत्तरीको छैटौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार जलेश्वरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले बहुमतसहित सरकारमा जाने तयारीमा लागेको बताए । त्यसैको लागि नेकपा एमाले मिसन २०८४ मा केन्द्रित भएको स्पष्ट पारे ।
एमालेले २०८४ मा बहुमत सहितको सरकार बनाउने ओलीले स्पष्ट पारे । एमाले संगठन निर्माण र विस्तारमा केन्द्रित रहेको उनले जानकारी दिए ।
‘हामी बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं, बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं,’ उनले भने ।
अध्यक्ष ओलीले सरकारको गैरजिम्मेवारीले पराकाष्ठा नाघेको बताए । तथापि नेकपा एमाले अहिले सरकार ढाल्ने र बनाउने खेलमा नरहेको उनले स्पष्ट पारे ।
वर्तमान सत्ता गठबन्धनले देश र जनताको हितमा काम गर्न नसकेको उनले बताए । सरकाले देशको स्वाभिमानको रक्षा समेत गर्न नसकेको ओलीले बताए । ‘यो सरकारले जनता र देशको पक्षमा त केही गर्न सकेन, छिमेकी मित्रहरूसँग भेट्दा पनि आँखा जुधाएर कुरा गर्न सकेन,’ ओलीले भने ।
अध्यक्ष ओलीले अहिलेको गठबन्धन देशको लागि अभिसाप भएको बताए । ओलीले सत्तारुढ गठबन्धन मुलुकमा जति धेरे लम्बियो देशले त्यति नै दुःख पाउने टिप्पणी गरे ।
उनले आफू नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको बताए । एमालेले सुरु गरेको समृद्धिको अभियान गठबन्धनले रोकेको उनको भनाइ छ ।