काठमाडौं । बितेका ६ महिनामा ३ हजार ४५ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागूऔषध प्रयोगकर्ता, कारोबारी र लागूऔषध सम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उक्त अवधिमा २ हजार ७५८ पुरुष र १४४ जना महिला, १३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् । यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् ।
पक्राउ परेकाहरू गाँजा, चरेश, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट ८ हजार ३२० केजी गाँजा, चरेश ३०८ केजी चरेश, १० केजी हेरोइन, २७ केजी अफिम र ३ केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचार कक्षले जनाएको छ ।
यसैबीच पनौती नगरपालिका–५ आईटी पार्कस्थित सडकबाट २८५ केजी अवैध गाँजासहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका–११ का बुद्धमान तामाङ, रामेछाप नगरपालिका–८ का २० वर्षीय सञ्जित तामाङ र ५३ वर्षीया विमला तामाङलाई पक्राउ गरिएको छ ।
आज सोमबारै अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७६ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।