सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका-१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।
दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर-मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, सर्लाहीको बागमती नगरपालिका–५, का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका-३, का ३५ वर्षीय रामलाल साहको अवस्था गम्भीर छ ।
त्यस्तै दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका-२, का २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका-२, का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका-३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका-७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका-७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका-२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएका छन् ।
घाइते सबैको एलेक्स न्यूरो अस्पताल कैलया, बारामा उपचार जारी रहेको छ । प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात् सबै घाइतेलाई एलेक्स न्यूरो रेफर गरिएको हो । दुर्घटनामा नापी कार्यालयका कर्मचारी सवार गाडी क्षतिग्रस्त छ । उखु बोकेको ट्याक्टरका चालक फरार छन् ।