काठमाडौं । देशका विभिन्न स्थानीय तहमा निमार्णाधीन ९८ आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ ।
अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै अर्थले बजेट दिन इन्कार गरेको हो । निर्माणको घोषणा गर्दा नै स्रोत सुनिश्चित नगरिएको भन्दै अर्थ मन्त्रालयले बजेट दिन इन्कार गरेको हो ।
गत १ कात्तिकमा स्वास्थ्य मन्त्रालयले ९८ वटा आधारभूत अस्पताल निर्माणका लागि ४० अर्ब ३६ करोड ४१ लाख आवश्यक पर्नेमा हालसम्म तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपैयाँ खर्च भइसकेको र ३७ अर्ब ११ करोड ८४ लाख ५ हजार आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयँग बजेट सुनिश्चितताको माग गरेको थियो ।
तर अर्थमन्त्री डा. प्रकाशशरण महतले रितपूर्वक अनुरोध प्राप्त नभएको भन्दै बजेट रोक्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
‘सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ र आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड (प्रथम संशोधन), २०८० को प्रक्रिया, पूर्वशर्तहरु र आधारहरु पूरा नगरी रीतपूर्वक अनुरोध प्राप्त नभएको हुँदा स्रोत सहमति प्रदान गर्न नसकिने’, अर्थले १७ माघमा स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ ।
अर्थको यो निर्णयसँगै ९८ वटा स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माणको काम प्रभावित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारी भन्छन्, ‘अर्थले स्रोत सहमति भएको छैन भन्ने तर्क गर्दै आएको छ । कामको प्रक्रिया यही गतिमा अगाडि बढ्ने हो भने अस्पताल भवनहरु बन्न नै बर्षौ लाग्ने देखिन्छ ।’