काठमाडौं । भारतमा मंगलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् भने विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् ।
भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौं एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ ।
वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म ८ जनाको मृत्यु र करीब ८० जना घाइते भएको जानकारी दिए । उनले मृतकको संख्या बढ्न सक्ने बताए । कारखाना स्थलका तस्वीरहरूले कालो धुवाँ सहितको भग्नावशेष देखाएका छन् ।
मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई आवश्यक तयारी गर्न बोलाइएको बताए । उनले सामाजिक सञ्जाल एक्समा भने, ‘नजिकैका क्षेत्रहरूबाट हरदामा एम्बुलेन्स लगिएको छ र हेलिकप्टरको व्यवस्था गर्नका लागि सेनासँग सम्मपर्क गरिएको छ ।’
उनका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ ।
हरदा जिल्ला अस्पतालका सर्जन मनीष शर्माले केन्द्रमा ठूलो संख्यामा मानिस हताहत भएको बताए । ‘हाम्रो अस्पतालमा ८ जनाको मृत्यु भएको छ, अहिलेसम्म ९० जनालाई यहाँ भर्ना गरिएको छ र हामीले तीमध्ये १५ जनालाई ठूला अस्पतालमा रिफर गरेका छौं,’ उनले भने, ‘घटनास्थलबाट उद्धार भइरहेका धेरै मानिसलाई यहाँ ल्याइँदैछ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘मानिसहरूको मृत्युले म दुःखी छु ।’ उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा २ हजार ४०० अमेरिकी डलर र घाइतेहरूलाई ६०० डलर दिइने बताए ।
कारखानामा उद्धार कार्यमा समन्वय गरिरहेका जिल्लाका वरिष्ठ अधिकारी कैलाश चन्द पार्टेले दमकलहरूले आगो निभाउने प्रयास गरिरहेको बताए । ‘आगो अहिले पनि निभेको छैन र हामीसँग घटनास्थलमा करीब १५ दमकल र धेरै उद्धारकर्मी छन्,’ उनले भने ।
उनका अनुसार कारखानामा २०० देखि ३०० मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन । ‘विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन्,’ उनले भने ।