काठमाडौं । ‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फूटबल प्रतियोगिता’ अन्तर्गत आज मंगलबार भएका खेलमा नेपाल एपीएफ स्कूल कीर्तिपुर र मनकामना स्कूल, जोरपाटी आ–आफ्ना खेलमा विजयी भएका छन् ।
नेपाल एपीएफ स्कूल कीर्तिपुरले पुष्पसदन स्कूल, कीर्तिपुरलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
अर्को खेलमा मनकामना सेकेण्डरी स्कूल, जोरपाटीले डीएभी स्कूल, जावलाखेललाई ४–० गोलअन्तरले नै हराएको हो । नेपाल एपीएफ स्कूल कीर्तिपुरको खेल मैदानमा प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरेका थिए ।
आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १७ तथा काभ्रेपलाञ्चोकको एउटा विद्यालय सहभागी छन् । विद्यालय तहबाटै फूटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अतिरिक्त महानिरीक्षक गौतमले जानकारी दिए । ‘भविष्यमा काठमाडौं उपत्यका बाहिरका एपीएफका विद्यालय, अन्य विद्यालय तथा फूटबल क्लबलाई समेटेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिनेछ,’ उनले भने ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेल नेपालय पब्लिक स्कूल, जोरपाटी र हारती शिक्षा मन्दिर सितापाइलाबीच तथा दोस्रो खेल ग्रिन भिलेज एजुकेसन फाउन्डेसन, कीर्तिपुर र जेम्स स्कूल, धापाखेलबीच खेल हुनेछ । यसअघि सोमबार भएका खेलमा ल्याबोरेटोरी माध्यमिक विद्यालय कीर्तिपुर ३–१ गोलअन्तरले विजयी भएको थियो ।
अर्को खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कूल हात्तिबन ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो ।