काठमाडौं । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ ।
सांघाई र हङकङका शेयर बजारहरूमा सरकारी विक्रयलाई लिएर बेइजिङ चिन्तित भएको छ । यी बजारले मूल्यांकनमा खर्बौं गुमाएका छन् र उक्त पराजयलाई रोक्नका लागि धेरै उपाय सार्वजनिक गरिएको छ ।
सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वले यी हुइमानलाई मुलुकको शीर्ष वित्तीय नियामक सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी) को प्रमुखबाट हटाएको सरकारी प्रसारक सीसीटीभीले बुधबार बताएको छ ।
ब्लुमबर्गका अनुसार त्यसको १ दिनपछि राष्ट्रपति सी चिनफिङ बजारलाई माथि उठाउने प्रयासमाथि छलफल गर्न नियामकहरूसँग भेट गर्न लागेका थिए । इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनका पूर्व अध्यक्ष यीलाई सन् २०१९ जनवरीमा सीएसआरसीमा शीर्ष पदमा नियुक्त गरिएको थियो ।
सरकारी सञ्चारमाध्यमका अनुसार यीले लियु शियुको स्थान लिएको थियो । लियुलाई ‘कानून र अनुशासनको उल्लंघन’ गरेको आरोपमा बर्खास्त गरिएको थियो र अनुसन्धान गरिएको थियो ।
एक आधिकारिक तथ्यांकअनुसार गत वर्ष चीनले ३ दशकमा आफ्नो सबैभन्दा कम वृद्धि दर (५ दशमलव २ प्रतिशत) हासिल गरेको छ । यसमा केही अर्थशास्त्रीले सन्देह प्रकट गरेका छन् ।
मुलुकले गम्भीर सम्पत्ति संकट, सुस्त खपत र वैश्विक उथलपुथलको सामना गरिरहेको छ । अधिकारीहरूमाथि व्यावसायिक गतिविधि पुनः सुरु गर्न र उपभोक्ताहरूलाई पुनः खर्च गर्न थप प्रोत्साहन कदम सार्वजनिक गर्न दबाब छ ।
चीनको अर्थतन्त्रले महामारीपछि प्रारम्भिक सुखद सुधार गरेको थियो तर घर र व्यवसायहरूबीच विश्वासको कमीका कारण खपत प्रभावित हुँदा गत वर्षका केही महिनाभित्र यस्तो सुधार समाप्त भयो ।
मंगलबार प्रमुख वित्तीय संस्थानहरूमा चीन सरकारको हिस्सा राख्ने एकाइ सेन्ट्रल हुइजिन इन्भेस्टभेन्टले कोषमा लगानी बढाउने बताएपछि हङकङ र सांघाईमा स्टक बढ्यो । सीएसआरसीले दीर्घकालीन कोषबाट थप कार्य गर्न आग्रह गर्ने र सूचीबद्ध कम्पनीहरूबाट पुनः खरिद बढाउन आह्वान गर्ने घोषणा गरेपछि सेन्ट्रल हुइजिन इन्भेस्टमेन्टले कोषमा लगानी बढाउने बताएको छ ।
बिग्रिएका बजारलाई समर्थन गर्न थप चिनियाँ उपायहरूको अपेक्षामा सांघाईको शेयरहरू बुधबार बढेका छन् ।