त्रिशूली (नुवाकोट) । बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ ।
सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८० मङ्सिर ७ मा जनाएसँगै सालको रुख कटानको अवरोध हटेको हो ।
डिभिजन वन अधिकृत रोशना पोखरेलका अनुसार यससँगै नुवाकोटमा निजी वन दर्ताको क्रम सुरु भएको छ । यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै सुरु भएको हो ।
‘निजी जग्गामा हुर्किएका सालको रुख काट्नको लागि वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनको लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएको छ ।’ डिभिजनल वन अधिकृत पोखरेलले भने, ‘दर्ता भएका निजी वनको सालका रुख तोकिएको कानुनी प्रक्रिया पूरा गरेर देशभर बिक्री गर्न पाइन्छ ।’
वन ऐन-२०७६ र नियमावली-२०७९ अनुुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा साल रुख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न सुरु गरेका छन् । डिभिजन वन कार्यालयको सिफारिसमा आवश्यक लगत खडा गरेर पालिकाबाट दर्ता प्रमात्रपत्र पाइने व्यवस्थाअनुरुप जिल्लाको अन्य पालिकाले पनि निजी वनको दर्ताको लागि आवश्यक कानुनी प्रक्रिया खुला गरेर तयारी अघि बढाएको छ ।
रुख कटानको लागि स्थान र उद्देश्यअनुसार पालिका वा वन कार्यालयको सिफारिसमा निजी जग्गाको सालको रुख काट्न पाइने भएको हो । बागमती प्रदेशभित्रको जिल्लामा सालको रुख काट्न ‘निजी वनको सालको रुख उपयोगसम्बन्धी कार्यविधि-२०८०’ मा निर्धारण गरिएको छ ।
सो कार्यविधि प्रदेशको वन तथा वातावरण मन्त्रालयले हाल राय तथा सुझाबको लागी मातहतका निकायमा पठाएकाले छिट्टै लागू गर्ने जनाएको छ ।