काठमाडौं । राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित एक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा नेपाल सरकारको भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्यसचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सुरक्षित सडक र दुर्घटना न्यूनीकरण गर्दै जाने क्रममा दुर्घटना भई आइपर्ने आपतकालीन अवस्था, खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा प्रदायकहरु र कुरिनटारको ईच्छाकामनास्थित सशस्त्र प्रहरी बल नेपालको पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सेवा सम्प्रेषण गर्न दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार तथा रेखरेखसम्बन्धी सम्झौता गरिएको हो ।
सो कार्यका लागि आवद्धताका लागि परामर्शदाताहरुले तयार गरेको सो नमुनागत प्रणाली कार्यान्वयमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयनका लागि समझादारी पत्रमा हस्ताक्षर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
योजना सञ्चालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्वार, घाइतेहरुको स्थलगतरुपमै उपचार गरिनेछ । यसमार्फत स्थानीय सबै स्वास्थ्य संस्थामा ट्रमासम्बन्धी तालिम एवं मेडिकल सामग्री तथा उपकरणसमेत थप हुने जनाइएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दुर्घटनामा परेका घाइते तथा बिरामीलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको जानकारी दिए ।
उनले सवारी दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाइ बिरामी तथा घाइतेको जीवन रक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संसाधनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।