काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् ।
आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो । संवैधानिक परिषद्को सदस्यसमेत राष्ट्रिय सभाका अध्यक्ष हुने संवैधानिक व्यवस्था भएकाले त्यहाँबाट हुने नियुक्तिलगायतका काममा अध्यक्षको प्रभावकारी भूमिका हुन्छ ।
सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेका छन् । शीर्ष नेताका बीचमा यसमा औपचारिक-अनौपचारिक छलफल हुँदै आएको छ । सत्तारूढ गठबन्धनको बैठकमा समेत यसमा छलफल भए पनि तीनै दलका आआफ्नै दाबीका कारण सहमति जुट्न सकेको छैन ।
सुरुमा अनौपचारिक छलफलमा टुंगो लगाउने प्रयास भएको तर तीनै जना नेताले आ–आफ्नो दाबी नछोडेपछि औपचारिक बैठकमा समेत यसमा टुंगो लाग्न नसकेको कांग्रेसका एक पदाधिकारीले बताए । माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दलका साथै अन्य विभिन्न कारणले अध्यक्षमा माओवादीको दाबी हुनु स्वाभाविक भएको बताए । उनले सत्तारूढ दलका शीर्ष नेताका बीचमा हुने छलफलबाटै छिट्टै नै टुंगो लगाउने बताए ।
तर, कांग्रेस र एकीकृत समाजवादीले आफ्नो अडान छाडेका छैनन् । कांग्रेस सभापति देउवा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले पाउनुपर्ने अडानमा छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारूढ दलका बीचमा छलफल गरेरै अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्षको छिट्टै नै टुंगो लाग्ने बताउँदै आएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि २० फागुनबाट सकिँदै छ । त्यसलगत्तै सो पद रिक्त हुँदै छ । राष्ट्रियसभामा माओवादी केन्द्रका उपाध्यक्ष छन् ।
माओवादी केन्द्रकी नेतृसमेत रहेकी राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याललाई प्रधानमन्त्री प्रचण्डले अध्यक्ष बनाउन खोजेका बताइएको छ । कांग्रेसले कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीले डा बेदुराम भुसाललाई राष्ट्रिय सभा अध्यक्षमा अघि सारेको छ । यो राजधानी दैनिकमा आज प्रकाशित समाचार हो ।