बनियानी । झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ ।
अस्पतालको २७औं वार्षिकोत्सवका अवसरमा आज शुक्रबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’को उद्घाटन गरे ।
वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन आफू लागिपरेको बताए ।
दृष्टि पब्लिक प्राइभेट पार्टनरसीप अनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करीब १६ करोडको लागतमा मशिन खरिद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिए ।
सन् २०२३ मा अस्पतालले बहिरंग सेवाअन्तर्गत १ लाख ९७ हजार ८७२ र विभिन्न शिविरमार्फत ७९ हजार बिरामीको आँखा परीक्षण गरेको उनले बताए ।
शल्यक्रिया सेवातर्फ अस्पलताबाट ३४ हजार ५४५ जना तथा बाह्य कार्यक्रमअन्तर्गत १ हजार ८१३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अधिकांशको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । रेटिनाको शल्यक्रिया गराउने ७ हजार ४०२, कोर्नियाको शल्यक्रिया गराउने २ हजार ८०५, अकुलोप्लास्टिको शल्यक्रिया गराउने ३ हजार ५६७ तथा अन्य शल्यक्रिया गराउने ६२७ जना रहेका छन् ।
अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५१ हजार ९१५ बिमितहरूको आँखा परीक्षण गरेको छ भने ५ हजार ६६१ बिमितको आँखाको शल्यक्रिया गरिएको अस्पतालका स्वास्थ्य निर्देशक पुरुषोत्तम जोशीले जानकारी दिए ।
वार्षिकोत्सव समारोहमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेशभा सदस्य एकराज कार्की, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।