काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा ५ हजार ३६४ जनालाई पक्राउ गरी १ अर्ब १९ करोड जरिवाना असुल गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा ५ हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूलाई तोकिएको १ अर्ब १९ करोड ८४ लाख ४९ हजार ३६१ जरिवाना असुलउपर गरिएको छ ।
जरिवाना रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा करीब ३१३ प्रतिशतले बढी हो । सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६१३ जना, कोशी प्रदेशबाट ८२५ जना, मधेश प्रदेशबाट १ हजार ७९७ जना, बागमती प्रदेशबाट ५२२ जना, गण्डकी प्रदेशबाट ४४७ जना, लुम्बिनी प्रदेशबाट ९१६ जना, कर्णाली प्रदेशबाट ८३ जना र सुदूरपश्चिम प्रदेशबाट १०७ जना पक्राउ परेका हुन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ हजार १५० जना पक्राउ परेका थिए । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगी लगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरी फैसला कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाएको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।