काठमाडौं । नेपालले क्यानडा विरूद्धको अन्तर्राष्ट्रिय १ दिवसीय सिरिजअन्तर्गत आज शनिबार दोस्रो खेल खेल्दैछ ।
खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जीत हासिल गरेको थियो । नेपाल उक्त खेलमा ७ रनले विजयी भएको थियो ।
सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो । २२५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २१७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले ४ विकेट लिएका थिए ।
नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको सिरिज आफ्नो कब्जामा पार्न चाहन्छ । अघिल्लो खेलमा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने फितलो रहेको थियो । सो खेलमा कुशल भूर्तेलले ६८ तथा आरिफ शेखले ३८ रन बनाएका थिए । नेपालले क्यानडासँग पहिलोपटक १ दिवसीय सिरिज खेलेको हो ।
नेपाली टोलीमा रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।