काठमाडौं । पशु सेवा विभागले लम्पी स्किन रोग नियन्त्रणका लागि प्रत्येक स्थानीय तहलाई एक लाख रुपैयाँ विनियोजन गरेको छ ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एक लाख रुपैयाँ विनियोजन गरेको जनाएकाे हाे ।
विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्लेले चालु आर्थिक वर्ष २०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र संक्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन भएको जानकारी दिइन् ।
विभागले विनियोजित रकमबाट यथाशीघ्र औषधी उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकाहरूलाई अनुरोध गरेको छ ।
पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोलीसमेत परिचालन गरिएको छ ।
हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भइ सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा १ लाख ८० हजार ९२२ पशुहरूमा खोप कार्य सम्पन्न भएको विभागले जनाएकाे छ ।
लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ ।
विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए ।
विभागका अनुसार हालसम्म संक्रमित ७ लाख ९ हजार २०३ पशुवस्तुमध्ये ४ लाख ५३ हजार ८१९ निको भइसकेका छन् भने २५ हजार ७८२ पशु मरेका छन् । हाल २ लाख २९ हजार ६०२ पशु सक्रिय संक्रमित छन् र संक्रमणको दर क्रमशः घट्दै गएको छ ।
लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् । सरुवा रोग भएको कारण सङ्क्रमित पशुलाई छुट्टै राख्न पशु सेवा विभागको किसानलाई सुझाव रहेको छ ।