काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल-हेलले शुक्रबार बिदाइ भेट गरेका छन् ।
राजदूत हेलले सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा गरेकाे बिदाइ भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो ।
अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे ।
उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ बताए ।
अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरू पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए ।
उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको र पर्यटन प्रर्वद्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेको जानकारी दिए ।
यस्तै, नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहाेर्याए ।
भेटमा राजदूत मोहम्मद अल-हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएकाे योगदानको प्रशंसा गर्दै बढीभन्दा बढी सुबिधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए ।
उनले पोखरालगायतका विमानस्थलमा सिधा उडानका लागि नेपाल सरकारका निकायहरूमा ५-६ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासोसमेत गरे ।