काठमाडौं । बन्दीपुर गाउँपालिकाका लागि ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिने भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच उक्त कार्यक्रमका लागि सम्झौता गरिएको छ ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सचिव यमुना श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाबीच शुक्रबार दुई पक्षीय सम्झौता भएको हो ।
उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रमअन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ क्षेत्रमा कार्यक्रम गरिनेछ ।
प्रदेश सरकारबाट परिपत्र भएपछि लगत्तै काम सुरु गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम गरिसक्नुपर्नेछ । गाउँपालिका–१, २ र ४ का पर्यटन क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्य गरिनेछ ।
उनले भने, ‘विशेषगरी बन्दीपुरबाट सिद्वगुफा जाने बाटोलाई बढी केन्द्रित गरेको छ ।’
मुख्यमन्त्री कार्यालय पोखराबाट रु ७५ लाख र गाउँपालिकाबाट रु २८ लाख ९५ हजार तीन सय गरी कूल रु एक करोड तीन लाख ९५ हजार तीन सय बजेट रहेको छ ।
उक्त कार्यक्रमअन्तर्गत सौन्दर्यीकरण, सत्तल, पाटी पौवा, रकक्लाइम्बिङ निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम सञ्चालन, कलासंस्कृति संरक्षण, पर्यटकीयस्थलको प्रवर्द्धन कार्यक्रम, वृत्तचित्रलगायत क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।
उक्त कार्यक्रमले बन्दीपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।