सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा आज शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेकाले मधेश आन्दोलबाट प्राप्त उपलब्धिलाई गुम्न नदिन त्यसविरुद्ध एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा उनले मुलुकका आर्थिक परिवर्तनका लागि कृषि क्रान्ति जोड दिए । तराई मधेशमा सिँचाइ, मल, बीउबिजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरी कृषिलाई सबल बनाइए देशको अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो ।
हरेक क्षेत्रमा मधेशी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको भन्दै ती क्षेत्रमा मधेशी, महिला, जनजाति, आदिवासी, मुस्लिम, पिछडा वर्गलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेश आन्दोलनबाटै भएको अध्यक्ष यादवले जिकिर गरे ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाको संगठन निर्माणमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको संगठन निर्माणमा ध्यान दिनुस्,’ उनले भने, ‘प्रदेश सरकारबाट सहयोग चाहिए म सिधै सम्पर्कमा छु । मलाई पनि जहाँ आउनुपर्छ आउँछु ।’
कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ४(२) बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिई प्रदेशसभा सदस्यमा निर्वाचित अनिरूद्व प्रसादसिंह यादव जसपा नेपाल पार्टीमा प्रवेश गरेका छन् । उनको प्रवेशसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेशसभा सदस्यको संख्या १९ पुगेको छ ।
यसअघि महोत्तरी २ (२) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३(१) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरिसकेका छन् ।
बृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्व कृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी १०० जना पार्टी प्रवेश गरेका छन् ।