काठमाडौं । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा राज्य संयन्त्र र सहकारी अभियान दुवैका तर्फबाट पर्याप्त पहल नभएको धारणा सहकारीकर्मीले व्यक्त गरेका छन् ।
नियमित नियमन तथा सम्बद्ध पक्षसँग सहकार्य गर्नसके अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने धारणा उनीहरूको छ ।
बागमती प्रोस्कुनको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सेजोन) को व्यवस्थापनमा आज यहाँ भएको ‘सञ्चारकर्मीका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’का क्रममा सहकारीकर्मी तथा यस क्षेत्रका जानकारबाट यस्तो धारणा आएको हो ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने धारणा राखे । सङ्कटको समयमा राज्य र सहकारी अभियान दुवैको सहकार्यमा समस्या समाधानका लागि पहल हुनु आवश्यक रहेको उनले बताए । सहकारीको सिद्धान्त परिपालना गरेर समुदाय र सदस्य केन्द्रित भएर सञ्चालित सहकारी संस्थाको वित्तीय स्वास्थ्य अहिले पनि निकै राम्रो रहेको उनको दाबी छ । सहकारी संस्था र यसको सिद्धान्त तथा अवधारणाप्रतिको बुझाइमा पनि समस्या रहेको उनले औँल्याए ।
“सरकारीका कर्मचारी र जनप्रतिनिधिमा सहकारीप्रतिको बुझाइमा एकरुपता नहुँदा पनि समस्या देखिएको छ”, उनले भने, “विश्वका कतिपय देशले सहकारीमार्फत नै आर्थिक तथा सामाजिक रुपान्तरण राम्रा उदाहरण छन् । नेपालमा पनि सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।” सहरी क्षेत्रमा रहेका केही ठूला र सहकारी मूल्य, मान्यता तथा सिद्धान्तभन्दा बाहिर गएर काम गरेका सहकारीमा मात्र अहिले समस्या आएको उनले बताए । बदमासी गर्ने सहकारी संस्थाका सञ्चालकलाई संरक्षण गर्ने नभई तत्काल कारबाही गर्न सके सहकारीप्रति आम मानिसको विश्वास बढ्ने उनको बुझाइ छ ।
बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्काले सहकारीको अवधारणा र यस क्षेत्र प्रतिको बुझाइमा एकरुपता कायम हुन सक्नुपर्ने बताए । केही बदमासी गर्ने सहकारीका कारण समग्र क्षेत्र नै बदनाम भएको र चौतर्फीरुपमा आरोप लागेको उनको भनाइ छ । नेपालले अवलम्बन गरेको तीन खम्बे अर्थतीतिको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी क्षेत्र क्षेत्रलाई हेर्ने, विश्लेषण गर्ने र सहकारीको अवस्था एव योगदानको सही विश्लेषण नभएको समेत उनको धारणा छ । सबै सहकारी समस्यामा नरहेकोसमेत उनले स्पष्ट पारे ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी संस्थाको वित्तीय विवरणको यथार्थपरक विश्लेषणमा समाचार संस्थाले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारीको वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुहुँदै कूल बचतमा ३० प्रतिशतभन्दा माथि नियमित बचतको हिस्सा रहेका सहकारी संस्थामा समस्या नआएको बताए । सहकारीको वित्तीय संरचनाको मुख्य स्रोत के हो भन्ने कुराले संस्थाको स्थायित्व कायम गर्ने उनले बताए ।
दिगो संस्था निर्माण गर्न नियमित बचत कम्तीमा ३० प्रतिशत, धन सृजना गर्ने बचत कम्तीमा १५ प्रतिशत, आवधिक बचत बढीमा २० प्रतिशत र कारोबार बचत ३५ प्रतिशत हुनुपर्ने सिइओ दाहालले जानकारी दिए ।
सहकारी संस्था सदस्यमा आधारित व्यवसाय भएकाले कूल सदस्यमध्ये ३३ प्रतिशतले संस्थाबाट ऋण उपभोग गरेको हुनुपर्ने पनि उनको भनाइ छ ।