लमजुङ । सुन्दरबजार नगरपालिकाले माछा संरक्षणका लागि विभिन्न खोलामा माछाका भुरा छाडेको छ ।
नगरपालिकाले पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पालिका भित्रका खोलामा माछाको भुरा छाडेकाे हाे ।
खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रवर्द्धनका लागि माछाका भुरा छाडिएकाे हाे ।
नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले पाउँदी, नाउँदी र किरिञ्चे खोलामा विभिन्न जातका १ हजार ८४० वटा माछाका भुरा छाडेको बताए ।
चालु आर्थिक वर्ष २०७९-०८० को कार्यक्रमअन्तर्गत खोलामा स्थानीय रहु, नैनी, र चर जातका माछाका भुरा छाडिएको हाे ।
काेइरालाले खोलामा करेन्ट लगाएर तथा विष हालेर माछा मार्ने क्रमलाई रोक्न आवश्यक कदम चाल्ने जानकारी दिए ।
माछाका भुराहरू मत्स्य विकास केन्द्र बेगनास, कास्कीबाट ल्याइएकाे थियाे । ती माछाहरू निकै प्रभावकारी तरिकाले उत्पादन हुने र छिटो बढ्ने बताइएकाे छ ।
पशु सेवा शाखाले चालु वर्ष नै मत्य विकास कार्यक्रमअन्तर्गत माछापालक किसानहरूलाई ५० हजार माछाका भूरा वितरण गरेको जनाएको छ ।