अछाम ढकारी नगरपालिकाको हिच्मा बण्डालिमाडुमा कहीँ कतै रेडियो बज्यो कि गायिका निरुता खत्री टाठी हुन्थिन् । उनका इन्द्रिय गीतको लय पक्रिन खोज्थ्यो । गीतको लयसँगै उनको स्वर गुनगुनिएर बाहिरिन्थ्यो । अनि रेडियोमा बजेको गीत मनमा भरेर उकाली-ओरालीमा, कहिले स्कुल जाँदा-आउँदा, कहिले वनमा दाउरा-घाँस जाँदा गाउँथिन् ।
गाउँघरमा गीत गाए पनि स्कुले जीवनमा भलिबल खेल्ने खेलाडी भनेर निरुतालाई चिन्दथिए । भलिबल खेल्न सिपालु थिइन् उनी । २०६६ सालदेखि नियमित एथ्लेटिक खेलमा चासो राख्ने निरुता जब-जब रेडियोमा गीत बज्थ्यो तब-तब उनी खेल भुल्थिन् ।
किशोर उमेरदेखि भलिबल खेलेकी निरुता २०७२ सालसम्म भलिबलमै रमाइन् । उनी क्षेत्रीय खेल खेल्न अछामबाट धनगढी पनि आइन् । भलिबलमा भविष्य बनाउने भइ भनेर सबैले भन्थे तर उनलाई भने रेडियोले लोभ्याउँथ्यो ।
‘चुल्ठीमा रिबन गीतले हिट भएपछि सबैले मेरो गायन क्षमतालाई पहिचान गर्नुभयो । त्यो समयमा पहिलाका गायिका पनि निकै चर्चित हुनुहुन्थ्यो । तर दर्शकहरूले नयाँ आवाज खोज्नु भएको थियो । मैले गाएको गीतलाई दर्शकले मन पाइदिनुभयो र त्यही गीत नै मेरो सफलताको कारण बनिदियो’, निरुताले भनिन् ।
रेडियोबाट बज्ने गीतले लोभ्याउँथ्यो । त्यसैले त अछामको रेडियो सोसाइटी र रेडियो डोटीमा काम गरिन् । भन्छिन्, ‘रेडियोमा काम गर्न थालेपछि गीतको त झनै नसा लाग्यो । गीत बजाएर सुन्थेँ आफैं । अझ देउडा गीत लगाएर बाहिर घाम ताप्दै गीत सुन्थें ।’
बाल्यकालदेखि गीत गाउँदै आएकी निरुताको सांगीतिक यात्रा रेडियोले पहिल्याइदियो । उनलाई देख्नेले खेलाडी हुने लक्षण सुनाउँथे तर उनी भइदिन् देउडा गायिका, जसलाई चिनायो ‘चुल्ठी रिबनको डोरी’ बोलको गीतले ।
चुल्ठी रिबनको डोरी
भनिन्छ नि सफलता पाउन सपना देखेर मात्र हुन्न । त्यसलाई पूरा गर्न हिम्मत चाहिन्छ र संघर्ष पनि गर्न सक्नुपर्छ । त्यस्तै गरिन् निरुताले पनि । सत्तरीको दशकमा उनी काठमाडौं आइन् र गायनलाई निरन्तरता दिन थालिन् । ‘चुल्ठीमा रिबनको डोरी गीत टर्निङ पोइन्ट बनिदियो’, उनले भनिन् ।
घरको कमजोर आर्थिक अवस्थाका कारण पनि निरुताले गायनलाई छोड्न सकिनन् । अझ दिदीबहिनीलाई हेर्ने दृष्टिकोणले सांगीतिक क्षेत्रमा लाग्न अझै गाह्रो थियो । उनलाई चुनौती थियो । भन्छिन्, ‘पहाडमा गीत-संगीतमा लाग्दा छोरीचेली बिग्री भन्ने समाज हो । त्यसैले संघर्ष गर्न पनि चुनौती थियो ।’
स्कुलको कार्यक्रम र मेलापातमा गीत गाएर सबैको वाहवाही बटुल्न सफल भएकी निरुता आफ्नो उच्च शिक्षा हासिल गर्न अछामको सदरमुकाम पुगिन् । त्यही नै बेला उनलाई रेडियो सोसाइटीमा विभिन्न सांगीतिक कार्यक्रम चलाउने अवसर मिल्यो । त्यही अवसर उनको गायन यात्रामा सुनमा सुगन्ध थपिदियो ।
निरुताले कयौं गीतमा आफ्नो आवाज दिएकी छन् । तर पनि सोचेको जस्तो सफलता पाएकी थिइनन् । यद्यपि उनले गाएको ‘चुल्ठीमा रिबनको डोरी’ गीत हिट हुन पुग्यो । त्यही गीतले नै उनलाई सांगीतिक क्षेत्रमा स्थापित गराइदियो ।
‘चुल्ठीमा रिबन गीतले हिट भएपछि सबैले मेरो गायन क्षमतालाई पहिचान गर्नुभयो । त्यो समयमा पहिलाका गायिका पनि निकै चर्चित हुनुहुन्थ्यो । तर दर्शकहरूले नयाँ आवाज खोज्नु भएको थियो । मैले गाएको गीतलाई दर्शकले मन पाइदिनुभयो र त्यही गीत नै मेरो सफलताको कारण बनिदियो’, निरुताले भनिन् ।
विशेष गरी देउडा भाषाको गीत-संगीत सुदूरपश्चिमको पहिचान नै हो । कला संस्कृति र मौलिक शब्दमा आफ्ना स्वर दिन पाएकोमा निरुता खुसी मनाउँछिन् । उनको यस गीतको सफलतापछि एकपछि अर्को गर्दै हिट गीतहरू दिन थालिन् । करिब एक दशकदेखि कलाकारिताको यात्रामा उनले देउडाका साथै लोक तथा दोहोरी भाकासमेत गीत गाइन् ।
निरुताले स्वर भरेका ‘बसेइ प्यारी जान्छु बम्बै’, ‘चुल्ठीमा रिबनको डोरी’, ‘बम्बै छैकी गोवा’, ‘जिन्स पाइन्ट लाउँदी’, ‘अछाम डौठेगडा’, ‘मेरी राइझुमा’, ‘खीर आउँला साहु खर्क’, ‘अछाम राम्रो मंगलशैन’, ‘मेरा जन्म्या देश’, ‘अब म प्रदेशी भयाँ’, ‘दैलेखकी रानी’लगायतका देउडा गीत चर्चित छन् ।
त्यस्तै, म छु सल्यान, आँखैमा राखेनी, ए मेरी पियारी, माछी काँडैले, कहिल्यै आँसु नझारे, निष्ठुरी माया, मुटुभित्र चोटलगायत लोकदोहोरी गीतका साथै ‘दारू जन आया, मायामा जातभात, जुटौं नेपाली, नेताले देशबेची खायाजस्ता जनचेतनामूलक गीत पनि निरुताले गाएकी छन् ।
संगीत क्षेत्रमा आएको करिब एक दशकमा आफूलाई दर्शकमाझ प्रिय बनाउन सफल भएकी निरुताले यस क्षेत्रमा दिएको निरन्तरता र मेहनतले टिक्न सकेको बताउँछिन् ।
‘सुदूरपक्षिमको अछामबाट काठमाडौं आएर म कलाकार बन्छु भन्नु त्यति सहज त थिएन्’, उनले भनिन्, ‘परिवारको साथ र समर्थनले गर्दा आज यो स्थानमा छु ।’
घरको कमजोर आर्थिक अवस्थाका कारण पनि निरुताले गायनलाई छोड्न सकिनन् । अझ दिदीबहिनीलाई हेर्ने दृष्टिकोणले सांगीतिक क्षेत्रमा लाग्न अझै गाह्रो थियो । उनलाई चुनौती थियो । भन्छिन्, ‘पहाडमा गीत-संगीतमा लाग्दा छोरीचेली बिग्री भन्ने समाज हो । त्यसैले संघर्ष गर्न पनि चुनौती थियो ।’
२०७२ सालमा डण्डीराज जोशीको शब्दम रहेको ‘माया सल्यानमा बस्ने म अछाममा’ भन्ने गीतमा आवाज दिएर उनी संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् ।
देउडा गीतको संरक्षण गर्ने सपना रहेको बताउने निरुताले हालसम्म २५० वटाभन्दा धेरै गीतमा आफ्नो आवाज दिइसकिन् । ‘देउडा गीत गाउने गायिकाको पहिचान बनाउन मन छ’, उनले भनिन् ।
देउडा गीत गायनमार्फत् देउडा गीत र सुदूरको भाषा तथा कलालाई संरक्षण गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा देउडा गीतको मौलिकता बुझाउन मन रहेको निरुता बताउँछिन् ।
‘मलाई देउडा गीतले नै यो पहिचान दिएको हो । देउडा गीतलाई दर्शकहरूले धेरै नै मन पराइदिनु भएको छ । सुदूरपक्षिमको देउडा भाषाका गीत फरक र बुझ्न कठिन भएता पनि अहिले सबैको चासोको कुरा बनेको छ’, उनले भनिन् ।
गायिका निरुताले आफ्नो सांगीतिक यात्रामा गीतसंगीत प्रस्तुत गर्न अन्तर्राष्ट्रिय मञ्चमा पनि पुगेकी छन् । उनी भारतका मुम्बई, दिल्ली, पञ्जाब, हरियाणालगायत सहरमा आफ्नो गायन क्षमता देखाइसकेकी छन् ।
सन् २०१९ मा कतारमा स्टेज प्रोग्राममा आफ्नो कला देखाएर दर्शकमाझ लोकप्रिय बनेकी उनी नेपालका सबै जिल्ला हुने सांगीतिक महोत्सवहरूमा पुगेकी छन् ।
खत्रीले छोटो समयमा नै गायन क्षेत्रमा पाएको सफलता प्रशंसनीय छ । उनले हालसम्म राष्ट्रियस्तरका ४ वटा अवार्ड र ४ वटा सम्मान प्राप्त गरेकी छन् ।