पोखरा । नक्कली उम्मेदवार बनी परीक्षा दिन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश लोक सेवा आयोग, गण्डकीले शुक्रबार सञ्चालन गरेको प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह, तेस्रो तह, वनरक्षक पदको परीक्षाअन्तर्गत आज भएको शारीरिक तन्दुरुस्ती परीक्षण र दौडका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा कालिकोटको रास्कोट नगरपालिका-२ सिपखाना घर भएका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट-४ सिउना घर भएका २० वर्षीयका गौरी सञ्ज्याल र सोही स्थानका १८ वर्षीय गोविन्द चौलागाईं रहेका प्रदेश लोक सेवा आयोग गण्डकी प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
परीक्षार्थीहरूको कागजपत्र चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
शारीरिक तन्दुरुस्ती परीक्षणअन्तर्गत २०० मिटर र ३००० मिटर दौडको परीक्षामा सहभागी स्युना-३ कालिकोटका गुरुराज सञ्ज्यालले नक्कली उम्मेदवार खडा गरी उनीहरूलाई परीक्षा दिन लगाएका थिए ।
गुरुराज भने फरार रहेका छन् । प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ ।
प्रदेश प्रहरी तालिम केन्द्र, छिनेडाँडामा शारीरिक तन्दुरुस्ती परीक्षण सञ्चालित भएकाे थियाे ।
प्रदेश लोक सेवा आयोग ऐन, ०७६ को दफा ४६ मा आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिम परीक्षामा कुनै व्यक्तिले पेश गरेको विवरण झुट्टा वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त वा परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्द गर्न सक्ने व्यवस्था गरेको छ ।