काठमाडौं । सेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३०.५६ अंक घटेको हो ।
सो अंकको कमी पछि नेप्से २०७० अंकमा कायम भएको छ । मौद्रिक नीतिको समीक्षाले बजारका लागि सकारात्मक विषय समेट्ने आश गरेका लगानीकर्ताले सो अनुरुप नआउँदा आज बिक्री चाप बढ्न गयो ।
मौद्रिक नीतिले सेयर धितो कर्जा रकमको सीमामा केही सहजता ल्याउन सक्ने, ठूला कर्जामा पनि जोखिमभार घट्न सक्ने कतिपयको अनुमान थियो । हाल व्यक्तिगत लगानीकर्ताले बैंकहरुबाट १५ करोडसम्म मात्रै सेयर कर्जा पाउँछन् भने ठूलो सेयर कर्जाको जोखिमभार १२५ प्रतिशत छ ।
आज बजारमा सबै क्षेत्रका सूचकहरु घटेका छन् । बैंकिङ १.०९, विकास बैंक २.४०, फाइनान्स २.२०, होटल तथा पर्यटन १.८०, हाइड्रोपावर ०.५८, लगानी २.०६, जीवन बीमा १.७५, उत्पादन १.०३, माइक्रोफाइनान्स १.५५, निर्जीवन बीमा १.८०, अन्य २.२७ र ब्यापार समूह ०.५२ प्रतिशत घटे ।
कुल ४० कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन बोटलर्स नेपाल, समाज लघुवित्त, सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
जोशी हाइड्रोपावरको ८, मैलुङखोला जलविद्युत्को ६.८८, दोर्दीखोलाको ६.७ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्तको ९.७, कर्णाली विकास बैंकको ५.८, सिर्जनशील लघुवित्तको ४.९२ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, तमोर, सगरमाथा जलविद्युत् कम्पनी र जोशी हाइड्रोपावर क्रमशः अगाडि रहे ।