तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ ।
यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो ।
मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनीयर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रहेका स्थानीय बैकुण्ठनाथ मिश्रले बताए ।
‘आजदेखि मसँगै छिमकी ज्योतिकुमार श्रेष्ठले पनि घर भत्काउन थाल्नुभएको छ । आइतबारको बैठकमा सडक विस्तारको कामलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थियौं,’ उनले भने ।
सडक विस्तार योजना (पूर्वीखण्ड) का इन्जिनीयर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै बजार क्षेत्रमा कामलाई तीव्रता दिइएको जानकारी दिए । उनले भने, ‘बजार क्षेत्रमा घर भत्काउन सुरु गरेर स्थानीयवासीले सडक विस्तारको कामलाई सहयोग गर्नुभएको छ ।’
पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन् । ‘यसका लागि ४५ जनाले पहिलो किस्ता बापतको रकम बुझिसकेका छन्,’ उनले भने, ‘पूर्वी खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीकै संरचना हटाउन ढिलाइ भएको थियो । अब बजार क्षेत्रमा घर भत्काइसकेपछि सडक फराकिलो बनाउने कामलाई अगाडि बढाउँछौं ।’
प्रहरी कार्यालयको संरचना हटाउन वडा कार्यालयले प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाइसकेको उनले जानकारी दिए ।
मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कने लगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको पाण्डेले बताए । उनका अनुसार बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।
पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ ।
पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु भएको छ ।