काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।
मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज मंगलबार उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो संक्रमणकालीन न्याय टुंग्याउनुपर्ने बताए ।
सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउनुपर्ने उनको भनाइ थियो । आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले विधेयक शीघ्र टुंग्याउन आग्रह गरेको उनले बताए ।
आफ्नो पार्टी मानव अधिकार संरक्षणको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, ‘एमालेले मानव अधिकार उल्लंघन गर्दैन र त्यसको उल्लंघनकर्तालाई संरक्षण गर्दैन ।’ उनले अनर्गल कुरा गरेर, सम्प्रादायिक र आपसी विद्वेष फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुरा स्वीकार्य नहुने दोहोर्याए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्याय गम्भीर विषय भएकाले राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुनेमा जोड दिए । उनले संक्रमणकालीन न्याय निरुपणमा पीडित पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
‘संक्रमणकालीन न्याय सम्बन्धी सर्वोच्च अदालतले केही आदेश दिएको छ । मानव अधिकारको आधारभूत कुरालाई हामीले स्वीकार गर्नुपर्नेछ,’ उनले भने, ‘पीडितलाई मर्का पर्ने खालको कानून कुनै पनि हालतमा बनाउनुहुन्न । संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्दछ भन्ने कुरामा दुईमत छैन ।’